प्रिय ! धेरै भो अटेर गरेको
सपनाको पर्खालले बिपना छेकेको
बेस होइन यो,
दिमागमा ‘रतन्धो ’ बढेको
माया ममता छातीमा धेरै थुप्री सके ,
बाबु आमा आफन्त धेरै कुप्री सके ,
सुनसान कोठामा ओईली सके खस्नलाई,
त्यसैले ,याद धेरै उम्ली रहन्छन छातीभित्र
तातो दिमागले वाफ झै चिन्ता उडाई रहन्छ
धेरै भो ! अनि अति भो !!
देश नाघी उफ्री भागेको,
खुट्टा सबै थाकी सके
घडीको सूईसँगै पैतला कुदाउँदा कुदाउँदा,
कुर्कुच्चो नै खिएर गै सके
अब त मन नै आत्तिई सक्यो,
ह्रित -स्पन्दन नै बढी सक्यो,
भो ! अब इच्छा सम्झाउँला बुझाउँला
उफ्री भागौ आफ्नै देश
प्रिय, उतै अधिक रमाउँला
प्रिय ! कर्म – धर्मको तिम्रो गठबन्धन
अग्नि -पथलाई चिस्याउने
अतुलनिय तिम्रा शीतल कदम,
समस्यामा दल्ने तिम्रा जोडदार ’हैंसे ‘ मलम,
तिम्रो अदम्य साहस हरपल हरदम
पासिनाले रुझेका तिम्रा तन
आसुँले खुइलिएका सिरानेको रंग
चिन्तित छातीमाथि बेचैनीको वजन
हर दिनका उल्झन ब्यबधान,
काम देखि दाम सम्म
बाल बच्चा देखि रोग ब्याध सम्म
हर दिन एक्लै जुध्नु पर्ने ,
आज भन्दा भोली झन, हरदम
उफ ! भो अब इच्छा सम्झाउँला बुझाउँला
उफ्री भागौ आफ्नै देश
प्रिय ! उतै अधिक रमाउँला
प्रिय, बाध्यता र आवश्यकताको वृक्ष
कहिले पो झुक्छ, पहाड झै अझ उठ्छ
डढेल्लो लागेनी ,कक्रक्क परेनी
नयाँ पालुवा बोक्छ अनि
फेरि मौलाउछ नयाँ विकल्प देखाएर,
लोभले सधैं लाभ ताकी रहन्छ
लाभ ताक्ता,
पश्चताप र बिलाप बाँकी रहन्छ
स्वार्थी नजरले ‘जुंगाको खेल’खेल्छ
चिन्ताले,
तालु खुइलिएर जान्छ
रिस रागको प्रवेग तिब्र पार्छ
द्रब्य प्राप्तीको परिधि
न कोही पुग्छ ,न पुगेका छन
वस ,पाउने चक्रब्यूमा फसी रहेछन
हैट भो ! अब इच्छा सम्झाउँला बुझाउँला
उफ्री भागौ आफ्नै देश
उतै अधिक रमाउला
प्रिय ! घैटोको कलकल पानी
घुर्र घुर्र बज्ने ठेकी मदानी
हॉडीको नुन ,
नाक कानमा शोभित जून झै मौलिक सुन
हर्पेका घिउ ,
संस्कृति सभ्यता जडित सुन्दर फूल झै जिउ,
दुर्लभ छन यहाँ ति मौलिकताहरू देख्न,
सेताम्मे मनमोहक उत्तरी अग्ला स्तम्भहरु,
हरियाली फॉट, पहाड अनि समतल मैदानहरु ,
छङ् छङ् बग्ने कन्चन सरिता अनि घना वनहरु
यो मानसपटलमा सधैं फेर्को मार्दछ,प्रिय
‘उतै’खुशी बर्षिने बाजी मार्दछ, प्रिय
निश्चित भो ! अब इच्छा सम्झाउँला बुझाउँला
उफ्री भागौ आफ्नै देश
उतै अधिक रमाउँला !
प्रिय , उतै अधिक रमाउँला !!
( दिनेश पोखरेल )