“ आवरण “ कविता

दुधे बालक सरह

एक धिपधिपे टुकी

निष्प्रभ सन्नाटा मेरो कोठा किनार

हावाको काखमा स्तनपान गर्छे,

अनि उधारो छर्छे केहि प्रकाश

मलाई देखाउन,

अनि म खिस्स हाँस्छु

मेरो थेत्तरो दाँत टल्किन्छ उजालोमा

अनि अन्तस्तलमा ठोकिन्छ एउटा कुरा :

म देखिएको छु किनकी

मेरो आवरण टल्केको छ

र म खुसी छु

( क )

झ्यालबाट छिरेको एकमुस्ट वतासले

टुकी निभायो,

निष्तेजले मलाई निल्यो,

टुकी र म दुबै हरायौ मलिनतामा

दुबैको अस्तित्व शून्य झै भयो,

म स्पर्श गर्छु आफूलाई

म छु – थाहा भयो

तर, म अस्थिर छु

आतंकित, भयभित र त्रसित छु अन्त:करणमा

किनकी टुकी निभेको छ अहिले

मेरो आवरण देखिएको छैन

अनि म दुखी छु

( ख )

सलेदोमा अल्झिएको आगोको शेष गोली

एक झिल्को भएर सल्किन्छ आत्मामा

र उजालिन्छ ध्रुवतारा छातिको कुनामा

एक प्रश्न भएर :

“ टुकीले सूर्य पोल्छ ? “

उत्तर दिन्छु आफूलाई-

आत्मा, उजेलो सूर्य नभई अध्यारो भए पोल्छ

अवश्य पोल्छ, किनकी

टुकीले हजार नक्कली आवरण देखाइ रहन्छ

सल्काई रहन्छ,

हजार बाटोको अगुवाई गर्छ,

डोर्याई रहन्छ

अनि आत्मा जलिरहन्छ,

डढिरहन्छ हरपल आवरणको मोहमा

अनि मरूस्थलमा देखिने मिथ्या आकृतीसँगै

आत्मा बलिरहन्छ जीवनभर

( ग )

अनि पुन: प्रश्न गर्छु आफैलाई

आत्मा घाम झै छर्लँग उजेलो हुन्छ त ?

मनैमन उत्तर दिन्छु:

जब मान्छेले आफूलाई मात्र हैन

संसारलाई आवरणहीन पूर्ण नांगो देख्छ-

यो आभास, यो अनुभव र यो अनुभूती नै

मान्छेको सर्वोत्तम खुशीको अवस्था हो,

जहाँ मान्छे लाज,लोभ लालच, घमण्ड, भ्रमबाट विच्छेद भई कटु सत्यमा ढुक्क हुन्छ,

यो नै खुशी हो,

जब मान्छे टुकीको लोभी प्रकाश त्यागी आत्माको प्रकाशमा लीन हुन्छ, यो नै खुशी हो

( घ )

कहिले काही अचानक बुद्दीको घैंटोमा घाम लाग्छ भन्थे, हो कि- सन्देह बढ्छ

र अन्तमा,

भोली पश्चिमबाट घाम झुल्कने त होइन?

विहानी हेर्न,म गुटुमुटु भएर सुत्छु

( —— दिनेश पोखरेल )