– दिनेश पोखरेल
घरको ढोका बन्द गरेर दुई पाइला मात्र के हिंडेकी थिइन् नयनालाई झट्ट याद आयो उनले भान्सामा चिया बसाएकी थिइन् | हत्त न पत्त ढोका खोली भान्साको ग्यास चुलो बन्द गरिन् । अलिकति चिया कपमा खन्याईन् ।दुई घुट्की पिईन् र हतारिदै आश्रमतिर लागिन् |
६० कटेकी नयनाले बिगत ३० बर्षदेखि आश्रम सन्चालन गर्दै आएकी थिइन् | सय भन्दा बढी अनाथ अपाङ्ग तथा गरीब बाल बच्चालाई पालनपोषण तथा शिक्षा उपलब्ध गराउदै आएकी उनी लोकप्रिय अनि इमान्दार सामाजिक कार्यकर्ता थिइन् |
अलिक हतार थियो, धेरै कागजी काम कार्यबाही गर्नु थियो | नयना फटाफट पार्क बिचको बाटो हुँदै घरबाट आश्रम जादै थिइन् | बाटो किनारामा एउटी बुढी आमै गलेर थचक्क बसेकी देखिन् । श्वास बढेर सास फेर्न धेरै मुस्किल भएको देखिन्थ्यो । नयनालाई सिधै जान हृदयले दिएन |
आमै छेउ गई सोधिन् ,” आमा, हजुरलाई के भयो ? किन बस्नु भएको यहाँ ?”
“छोरी,अचानक मेरो कम्मर सारै दुख्यो | हिडन सकिन | भर पर्ने लौरो भए हिंडेर जान सक्ने थिए | सक्छौ भने एउटा टेक्ने लौरोको ब्यवस्था गरी देऊ । मैले लौरो घर मै बिर्सिएछु । “
नयना मुस्किलमा परिन् किनकी उनी एकदम हतारमा पनि थिइन् | संयोगवस पार्क बिचको फलैचामा एक अर्धबैंसे युवक देखिन् । कालो चस्मा र छड्के टोपी लाएको त्यो युवक गीतमा मस्त देखिन्थ्यो । ऊ लौरो काठमा ठोक्दै आफ्नै गीतमा संगीत दिदै थियो | उनी फटाफट उतै तिर लागिन् ।
“ भाइ , यो लौरो एक छिन देउ न ,बाटोमा बुढी आमा असाध्यै अप्ठरोमा पर्नु भएको छ | “
त्यो युवाले बिना हिचकीचाहट तुरून्त सहमतीकासाथ भन्यो “हुन्छ नि दिदी,लिनुहोस ।”
“आमा, यो लौरो टेक्दै बिस्तारै जानुहोस,मलाई अलिक हतार छ ” भन्दै आश्रमतिर बढिन् | आश्रम पुगे पछि मात्र नयनालाई उनको चस्मा घर मै छोडिएको पक्का भयो | त्यसैले सबै गर्नु पर्ने जरुरी कागजी काम कार्यबाही गर्न सकिनन् |
दिउँसो असिना पानी दर्कन थाल्यो, हावापानी बढ्दो गतिमा थियो | आकाश काला सेता चम्केका उज्याला धर्साहरुले भरिए । भयानक वृष्टिपात भयो | यत्रत्तत्र रुखहरु लड्दै थिए | बाटाहरु पानीले भरिए | प्रकृतिले ठूलै अनिष्ट हुने बोध गराएको भान हुन्थ्यो | आश्रममा बस्ने सबै भयभित र दुखी देखिन्थे | धेरै अत्तालिएका थिए | त्यसैले आज नयनाले घर नफर्किने निर्णय गरिन् | उनी आश्रममै बसिन् | घनघोर पानी रातभरी पर्यो |
भेलीपल्ट बिहान आकाश छर्लंग खुलेको थियो । चश्मा घरमा भुलेकाले धेरै काम अड्कियो । त्यसैले नयना बिहानै आश्रमबाट घरतिर लागिन् | बाटैमा पर्ने पार्क बिचको फलैचा वरिपरी मान्छेहरुको झुण्ड थियो | उतै तिर लम्किदै गरेको पुरुषलाई सोधिन् “त्यहा के भएको हो ?
उसले हतारमा जवाफ दियो “ रातिको असिना पानीले कुटेर मान्छे मर्यो रे “
मान्छे मरेको सुन्ने बित्तिकै नयनाको मन दुखी भयो । कौतुहलता पनि जाग्यो र लागिन् उतै |
फलैचा माथि एक शव तन्नाले छोपिएको थियो, अनुहार चिनिने गरी शिरको भाग खुल्ला अनि छेउमा कालो चस्मा र टोपी पनि थियो ।
नयनाले छेउका एक भलादमीसँग घटना बारे जिज्ञासा राखिन् | उसले प्रस्टायो :
“ यो एक युवकको शव हो | रातभरीको हावा पानीले भिजेर मृत्यु भएछ | ऊ एक लौरोको सहराले मात्र हिड्ने गर्थ्यो | मैले धेरै पहिलादेखि देखेको हो | उनी अन्धो थिए…दृष्टिबिहिन |”
नयना आश्चर्यमा परिन् | उनलाइ हिजो त्यो युवकसँग भएको छोटो कुराकानी याद आयो — भाइ यो लौरो एक छिन देउ न ,बाटोमा बुढी आमा असाध्यै अप्ठरोमा पर्नु भएको छ , — हुन्छ नि दिदी लिनुहोस
धेरै छिनहरु बिती सक्दा पनि उनले त्यो लौरो युवकलाई फर्काउन भुलिन् जसको कारण निर्दोष युवकको ज्यान गयो | उनलाई ठुलो अपराध गरेको प्रायश्चित भयो | नयनबाट आँसु बर्सिए | मन सारै रोयो | आसुँ झार्दै भक्कानिदै आँफैलाई सोध्दै थिइन् “मैले पाप गरेँ कि पुण्य ?”
बुढी आमै नयनाले दिएको लौरी टेकेर भिडको अगाडि उभिएकी थिईन् । आमैले नयना र शवलाई पालै पालो टुलुटुलु हेरी रहिन तर नयनासँग हिजो भेटेको कुनै क्षण आमैको स्मरणमा रहेको भान हुन्न थियो ।
————-समाप्त—————