“ हिउँको फूल “ कविता

( प्रेम दिवस विशेष )

– दिनेश पोखरेल

एक अविवाहित नारी
प्रेम दिवसको दिन
फूलको गुच्छा कारभित्र राख्छे
र गन्तब्यतिर हतारिन्छे

त्यहा उभिएर,
सिधै क्षितिज चिहाउछे
स्वच्छ नभमा चम्किएको
अति विशाल रजतपटमा ,अहो !
आफूलाई नायिका झै
क्षितिजमा देखाउछे
जिन्दगीको अभिनय आँखामा उतार्छे
र भावनालाई चलचित्र झै रजतपटमा हेर्छे

– चलचित्र हिउँको फूलबाट सुरु हुन्छ
त्यो पनि हृदयको नायकसँग
हिउँका फूल ढकमक्क थिए
स्वार्गीय अलौकिक अनुभूति थियो
हिउँमा खेलेका,हिउँले छेपेका
हिउँमा चिप्लिएका
क्रीडाहरु रोमान्चित,प्रेमिल अभिब्यक्ति थिए
गाएका ,नाचेका, जिस्केका
समष्टि हिम- स्‍मृतिहरु प्रस्तुत थिए
जीवनले खुशीको रजतटोप लाएको थियो
हिमवृष्टिले आदर सत्कार थपेको थियो
हिउँको फुल हेर्दै
आँखालाई ‘मध्यान्तर ‘ को सूचित गर्छे
र टाउको झुकाएर
दश मिनेट मौनतामा विश्राम लिन्छे

मध्यान्तर पछि ,
यादलाई पुन: क्षितिजमा ठोक्काई
अन्तिम भाग रजतपटमा प्रदर्शन गर्छे
आगो! आगो !! आगो !!!
जीवनले उत्कर्ष दृष्य छायाङ्कन गरिसकेको थियो
भाग ! भाग !! भाग !!!
भयानक दुर्घटनाको कोलाहल कैद थियो
डङ्ग ! डङ्ग !! डङ्ग !!!
आगो धुँवा मुस्लो सहितको बिस्फोट थियो
रोइकराइ,भागाभागको त्रसित हूल थियो
अनियन्त्रित ठेलमठेला थियो बाँच्नकोलागि
कहाली लाग्दो दृष्‍यमा
उनी र उनका नायक
दुबै जीवन भेट्ने बाटो सोध्दै थिए आगोलाई
प्रेम दिवस कै दिन
पाँच वर्ष अघि डिस्को हलको घटना
रजतपटमा झल्किएको थियो
हिउँको फूल पग्लिएर सकियो
‘ समाप्त ‘ भयो चलचित्र
भाव रोक्छे,क्षितिज सुनसान भयो

बसेर,
मसानघाटमा फूलको गुच्छा राख्छे
‘ श्रध्दाञ्जली ‘ उपहार
प्रेम दिवसको चढाउछे
अनि सोच्छे – तिमी हिउँको फूल हौ
ममाथि बलेको अगोमा अफूलाई झार्यौ
आगोसंगै तिमी निभेर गयौ, नायक !
उनले मनलाई पर राख्दै
तनलाई हेर्छे –
आधा जलेको कालो,कुरुप,
तर्साउने मुहार स्पर्श गर्छे र
अनुहारलाई सान्त्वना दिदै भन्छे –
हिउँ जलेर कालो फूल दियो मुहारमा
कहिले नमर्ने गरी
जरा छातीमा फिंजियो नखुम्चिने गरी
कतै नसर्ने गरी
जीवनभर यादले सेतो चुम्बन खान्छ
प्रेम दिवसको दिन
– अनि फर्किन्छे चिहानघाटबाट