“ मदर्स डे “ छोटोमिठो कथा

( बाल मनोविज्ञानमा आधारित )

वैशाख कृष्ण पक्षको औंसी,आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औंसीको दिन थियो ।कक्षा सातका विद्यार्थीहरुले मातृ दिवसको उपलक्ष्यमा आ-आफनो आमालाई उपहार दिन राम्रा लोभ्याउने चित्र कोर्दै रमाउँदै थिए | आफ्नो रुची, ढंग तथा दक्ष अनुसारका चित्र कोर्न तल्लीन देखिन्थे। बिभिन्न रंगहरू संयोजन गरेर ‘ हयाप्पी मदर्स डे ‘ लेख्थे । त्यस वरिपरी माया झल्कने बिभिन्न सुन्दर स्माइली’ ले सिँगार्ने गर्थे | पाँच वर्षे मनिषाले पनि घरको बैठक कोठामा राखेको स्वर्गिय आमाको चित्र कोरेकी थिइन् | लामो कपाल, ठूला आँखा , चटक्क परेको नाक, हातखुट्टा तथा जिउडाल दुरूस्तै थिए फोटोमा भए जस्तै । चित्र वरिपरी लहरे फूल, फूलको माला , माया झल्कने पानको पात , पुतली , मुटु आदि इत्यादि बिभिन्न बुट्टाहरूले फोटो सिंगारेकी थिईन् I सो मायालु चित्र मुन्तिर “आई लव यू मामु “ लेखिएको तथा त्यसको वरिपरी प्यारा स्टिकर्स टाँसेर मनिषाले दिल छुने खुबै मार्मिक चित्र तयार गरेकी थिईन्। परस्पर फोटो देखाउदै ‘ कसको राम्रो भन्ने ‘ केटाकेटीहरूबीचको आपसी निर्दोष जिज्ञासाको होडबाजी भने कक्षाकोठा भित्र चल्दै थियो ।

चित्र देखाउदै मनिषालाई छेउमा बस्ने साथीले सोधी , “ म त यो चित्र मामुलाई दिन्छु ,यो देखेर मेरी मामु सारै खुसी हुनुहुन्छ | मनिषा, तिम्रो त्यो चित्र कसलाई दिन्छौ ? तिम्रो त मामु हुनुहुन्न त !”

पाँच बर्षे मनिषालाई यो वाक्यले बोल्न अड्कायो, एक छिन अक्क न बक्क भईन् । उनलाई बल्ल आमाको अभाव महसुस भयो | अरु भन्दा नि आफुले बनाएको यस्तो राम्रो तस्विर साथीले झै मामुलाई दिने इच्छा पुरा नहुनु नै मनिषाको रुने प्रमुख कारण बन्यो | उनी भावुक हुँदै गईन । बिस्तारै सुँक्कसुँक्क रुन थालिन् | मनिषाको रुवाई रोकिएन, उनको रुवाई अझ तिब्र भयो । उनी घोप्टो परेर डाको छोडेर रुन थालिन् | अझ जोड जोडसँग रुन थालिन् | शिक्षिकाले धेरै सम्झाइन् तर केही जोर चलेन ।

एकोहोरो रूवाईको आवाजले कक्षाकोठामा तनावयुक्त परिस्थिती सृजना भयो ।यसको समाधान भनेकै मनिषालाई फुल्याएर घर पठाउनु थियो।त्यसैले शिक्षिकाले मनिषाको बुबा मदनलाई फोन गरेर सारा घटना- क्रमको बेलिविस्तार लाईन् । उनले मनिषालाई सम्हाल्न कठिन भएकोले जति सक्दो चाँडो घर लिएर जान मदनलाई आग्रह पनि गरिन् |

यो खबरले मदन मर्माहत भए । मन कटक्क खायो । उदास र खिन्न बने | उनी सधैं मनिषालाई खुशी र हँसिलो राख्न चाहान्थे । तर स्कूलको यस्तो फोन आएपछि के गर्ने भन्ने सम्म सोच्न सकेनन । यो कठिन समस्याबाट सहज अवतरणका लागि उनी नया जुक्ति सोच्न लागे ।

दिउसोको एक बज्न लागेको थियो । मदनले आफ्नो लामो कपालको बिचमा सिउँदो काटे । दुई चुल्ठा बाटे । सिउँदोमा सिन्दूर हाले , टिमिक्क चोलोमाथि साडीको फन्को बेरे । चुरा पोते लगाए । गाजल,लिपिस्टिक,पाउडर पनि पोते । सबै सिँगार गरे पश्चात् पाउजुको झन्कारमा लेडिज स्यान्डल टकटक पार्दै फटाफट स्कुलतिर लागे |

एक भिन्न हुलियामा मदन कक्षाकोठाको ढोका सामुन्ने ठिंग उभिए । आँखामा टिलपिल आँसु पारी रूदै गरेकी मनिषाले जब बाबालाई यस्तो अचम्म,अनौठो र हाँस उठ्दो भेषमा देखिन् , उनी अचानक खित्का छाडेर हास्न थालिन् | उनको अट्टहास रोकिएन । मदन पनि खुब हास्न थाले | दुबै एक अर्कालाई हेर्दै हास्न थाले | खुशीले फुरूक्क मनिषा बुरूक्क उफ्रिदै बाबा छेउ गाईन् र ब्यागबाट कक्षामा कोरेको चित्र निकाल्दै भनिन् “ हयाप्पी मदर्स डे , बाबा !“ हास्तै बाबाले छोरीलाई जुरुक्क उठाए र कोमल गालामा माया भरिएको मिठो चुम्बन गरे ।

( ——दिनेश पोखरेल )