मुखै मुख छ शरीर भरी मान्छेको
बाहिरी आवरण देखि भित्रसम्म
त्यसैले ऊ पर्खीरहन्छ भोक टाल्न जीवन भर
खाएको दुइ मुठ्ठी श्वास
धरतीलाई पैचो फिर्ता गर्ने बेला मात्र
रित्ता हातहरू हेर्दै झस्किन्छ / बर्बराउछ –
‘ के म मान्छे थिएँ र ? फेरि मान्छे हुनेछु ?
उत्तर भेट्न अर्को भोक जाग्छ
हरेक अङ्ग अङ्गका भोकहरू छन्
हरेक अङ्गका आफ्नै आहारहरू
कति सक्कली भोकहरू छन
कति नक्कली भोकहरू छन
त्यसैले मान्छे भोका भेटिन्छन
कहिले आवश्यकतामा खान्छन
कहिले विलासितामा खान्छन, खाईरहन्छन
अघाउन
जाबो एक मुठी भात – पातमा कि थालमा ?
– कुन पातमा ? कुन थालमा ?
– कत्रो पातमा ? कत्रो थालमा ? – -कस्तो पातमा ? कस्तो थालमा ?
खानु अगाडि थरी थरीका प्रश्नहरूको भोक जाग्छन
जाबो एक जिउ सुत्न -गुन्द्रीमा कि खाटमा ?
-कुन गुन्द्रीमा ? कुन खाटमा?
– कत्रो गुन्द्रीमा ? कत्रो खाटमा ?
-कस्तो गुन्द्रीमा ? कस्तो खाटमा ?
सुत्नु अगाडि यस्ता प्रश्नहरूको भोक जाग्छन
जाबो एक सरो लाउन –
कस्तो ? कत्रो ? कुन ? कसको ? कहाँ ? किन ?
प्रश्नहरूको भोक जाग्छन
औंलालाई औंठी , गलालाई हार
अनेक अनेक, बेगन्ती
अनि भोकै भोकले अघाउँछ मान्छे
बर्षौदेखि ऑगनमा ठडिएको छ
तुलसीको बोट- पात झर्छ, पलाउँछ, मर्छ
सानो अनुभूति नचाख्नेहरुले
विशाल प्रकृतिको मीठो संतुष्टी कहिले खान्छन ?
नदीनाला, झरना ,पहाड ,पर्वत ,हिमाल
जंगल पशुपन्छी जनावर झारपातले
सित्तैमा बाँडेका अपार सुख आनन्द यत्रतत्र छन
कहिले खान्छन ?
सुख खाए पो अघाईन्छ , पल्किन्छ
नखाएपछि,
मान्छेहरू सधै भोकाछन
त्यो साधुबाबा ,ऊ पनि मान्छे हो
चौतराको बिचमा
मीठो बट्ठ्याई गरेर अघाएको छ
मात्र पापी छिद्रहरू नियन्त्रण गरेको छ
पापी ऑखा बन्द छ तर ऑखा छ
पापी कान बन्द छ तर कान छ
पापी मुख बन्द छ तर मुख छ
पापी नाक बन्द छ तर नाक छ
मान्छेले किन बुझ्न चाहन्न , हँ?
अघाएको उसको ऑखा कस्तो होला ?
अघाएको उसको कान कस्तो होला ?
अघाएको उसको मुख कस्तो होला ?
अघाएको उसको नाक कस्तो होला ?
एक ढिक्को पार्दा,
अघाएको उसको मन कस्तो होला ?
कस्तो होला अघाएको उसको मन !
भोकहरू नलाग्ने त्यो मन !
————-समाप्त—————