म साउदी अरबमा थिएँ | म त्यहाँ काम गरेको दुई वर्ष जति भएको थियो | १०० कि.मी.जति पर एक अपार्टमेन्टमा केही चिनेका साथीहरू बस्थे | खासै आइजाइ हेल्लो हाई नभए नि बिदा मिलेको फुर्सदमा वर्षमा एक पल्ट म त्यहाँ पुग्ने गर्थे |
मलाई कम्पनीले एक हप्ताको बिदा दियो | एक दुई दिन बिदा मनाउने गरी लागे उतै तिर | म पुगेको झन्डै एक घण्टा भएको थिएयो र साथीहरूसँग बसेर चिया पान हुदैथीयो। सोहि बखत एक युवक एअरलाईन्सको स्टिकर झुन्डिएको बाक्सा घिसट्दै आई पुगे कोठाभित्र | ती युवकसँग चिना जाना लगायत केही औपोचरिक वार्तालाप भए | उनले नेपालबाट भर्खर आउँदै गरेको र साउदी अरबको लागि नयाँ भएको कुरा गफगाफमा बताए | सबै साथीहरूले उनलाई मनदेखि स्वागत गरे |
केही समय बित्यो गफगाफ मै | लगभग एक घण्टा पश्चात् ती युवकले एक साथीसँग अनुरोध गरे ,” यो लुगा मैलो भएछ ,भए एक जोर लुगा दिनु न ” म अचम्ममा परे र सोधी हालें ‘ भाइ यत्रो ठुलो बाक्सा लिएर आएका छौ तर फेर्ने लुगा माग्छौ , किन र ! के छ र यो बाक्साभित्र ?’ ती युवकले चुपचाप बाक्सा खोले र देखाए | म अचम्ममा परे र भनेँ ‘ यो त खाली छ त !’
ती युवकले भावुक हुँदै यसरी बताए ” दाजु, यो बाक्सा ऋण लिई किनेको हो | तपाईँले देख्नु हुन्न यो भरिएको छ | यो बाक्सा भित्र छोरा छोरीको सपना ,श्रीमतीको सपना आमा बाको सपना साथै अन्य धेरै सपनाहरु खचाखच छ | सबैको सपना पुरा गर्न यो बाक्सा पैसाले भरेर नेपाल लानु छ|” यो सुनेर म एक छिन गहिरो सोचमा टोलाए |
एक वर्ष पछि मलाई ती भाइको धेरै याद आयो | मलाई उनलाई भेट्न तीव्र इच्छा जाग्यो र लागे उतै तिर | लगभग २ घण्टाको बस यात्रा पश्चात् साथीहरूको कोठा पुगेँ | भित्र छिर्ने बित्तिकै दराजमाथि त्यो बाक्सा देखेँ र साथीहरूलाई सोधी हालेँ, “ ती भाइलाई कस्तो छ नि, बाक्सा भरियो त ?” सबै साथीहरू स्तब्ध र गम्भीर बने | आँखामा टिलपिल आँसु पार्दै एक साथीले भन्यो ” उनी त बाक्सा भित्र भरिएर नेपाल पुगी सके |’ म छाँगोबाट झरे | मेरो मुटु रोयो र आँखाबाट दुई थोपा आँसु श्रद्धाञ्जली स्वरूप भुईँमा खसे |
भोलिपल्ट म आफ्नो कोठा पुगेँ | दराजभित्रको उस्तै पुरानो बाक्सा खोलेँ | बाक्साभित्र छोराछोरी ,आमा ,बा ,श्रीमतीको फोटो हाँसीरहेको थियो | फोटो उठाई छातीमा टाँसें अनि एक्लै रोई रहेँ, रोई रहेँ |
————-समाप्त—————