“ भन्नु त बुढा ,म कस्ती देखिएकी छु ?” डा. शर्माको श्रीमतीले आज पनि सोधीहालिन् | यो त उनको दैनिकी नै थियो | दिनभर ऐना अगाडि उभिने ,सिँगारपटार गर्ने ,थरी थरीको सारी चोली फेर्दै सेल्फी खिच्ने, फेसबुक, इन्स्टाग्राममा पोस्ट गर्ने अनि श्रीमानलाई बेलुका सोध्ने -म कस्ती देखिएकी छु ,बुढा ।
“ राम्री देखिएकी छौ “ आज पनि प्रशंसा गरे डा. शर्माले “ हिजोको सारीले भन्दा यसले धेरै सुहायो ,धेरै खुलेको छ “
मुख डोलो पार्दै लिपिस्टिकसँगै आफ्नो तारिफ थपिन् “ फेसबुकमा, इन्स्टामा धेरै राम्रो राम्रो कमेन्ट आ’को थियो “
‘‘राम्रीको तारिफ यत्रतत्र हुन्छ नि” चार महिनाजति मात्र बिहे भएको नव श्रीमतीलाई अझ उचाली दिए | उचालेको मेसो नपाउने श्रीमती फेरि नाक, कान, घाँटी,गाला,काखी पोत्नै ब्यस्त भईन्।
जथाभाबी छरिएका लत्ताकपडा ,लाथालिङ्ग सामान ,भुँईको फोहोर अनि बिहानदेखिका जुठा भाँडाकुँडाले कोठा अस्तब्यस्त देखिन्थ्यो । तर पनि हर साँझको बाध्यात्मक दैनिकी ठानेर डा. शर्मा आज पनि बिना हिचकिचाहट तम्सिए । कोठा चिटिक्क पार्न देखि बर्तन धोइपखाली गर्न एकै छिनमा भ्याए |
काठमाडौंका डा. शर्माले मानव मनोबिज्ञान बिषय पढाउने गर्थे | उनी सारै ब्यस्त लेक्चरल भनेर गनिन्थे | एक-दुई पिरियड गर्दै दिनमा पाँच क्याम्पस सम्म पढाउने गर्थे | सबैले क्याम्पसमा उनको बढाईचढाई ठुलै गर्थे | कसैले त ‘फ्रायडको नाती ’ उपनाम समेत दिएर जिस्काउने गर्थे |
एक दिनको कुरा हो | डा. शर्मा र उनकी श्रीमती काठमाडौ नजिकैको एक गाउँ घुम्न गएका थिए | असाध्यै गर्मी दिन थियो | थानकोटदेखिको पैदल यात्राले सारै थाकेका पनि थिए | बाटो दाहिने किनारामा चौतारो देखियो | बटुवाको लागि चौतारोको कुनातिर माटोको घैटोमा चिसो पानीपनि राखिएको थियो | दुबै उतैतिर लागे र चिसो पानी पिएर प्यास मेटे | केही समयान्तर पछि डा. शर्माले श्रीमतीतिर हेर्दै गीतको लयमा मस्किए “ ….धन ठुलो कि मन ठुलो …”
“ मलाइ त मन नै ठुलो लाग्छ | चौतरोमा यति पानी राख्न त के बिघ्न धन लाग्छ र !“ श्रीमतीले मुख खुम्चाउँदै फुर्ती लाईन् | डा. शर्मा मुसुक्क हाँसे | यत्तिकैमा एक अर्धबैसे महिला गाग्रीमा पानी लिएर चौतरोमा आइन् र रित्तो गाग्री निकालेर पानीले भरिएको गाग्री त्यहा राखिन् | डा. शर्माले श्रीमतीतिर नजर डुलाए| | श्रीमती हाते ऐना हेर्दै लाली र काली दल्नै ब्यस्त थिइन् ।
.”बैनी ,तिम्रो घरमा ऐना छ ?” डा. शर्माले अचानक गाग्री छेउमा उभिएकी अर्धबैसी ती सुन्दरीलाई प्रश्न गरे |
“ छैन ,हामी त कुवाभित्र हेर्दै काम चलाउछौं, अनुहार त कुवाभित्र पनि देखिहालिन्छ नि “ भन्दै लजाईन |
“ तिमी सारै राम्री देखिएकी छौ …….तिम्रो मन त अझै …. “ डा. शर्माको पुरा वाक्य नसुनी सुन्दरी खाली गाग्री बोकी बाटो लागिन् । उनकी श्रीमती सुनेको नसुने झै गरी अनुहार पोत्न मै ब्यस्त थिइन् । काठमाडौ पुग्ने बस भेट्न अझै आधा बाटो हिड्नु थियो | दुबैले बाटो तताए।
भोलिपल्ट ,सधैं झै डा. शर्मा क्याम्पसको नियमित काम सकेर घर फर्किए । गलेकाले सोफामा थ्याच्च बसे | कोठामा केही परिवर्तन भान हुन्थ्यो । त्यसैले चारैतिर आँखा घुमाए | कोठा सफा र चिटिक्क थियो | लुगाफाटो धोई-सुकाइ पट्याएर राखेका थिए | भुँई पुछिएको थियो | कोठा सुगन्धित, ओच्छान चिटिक्क अनि सबै सामान ब्यवस्थित देखिन्थ्यो | उनी आश्चर्यचकित नै परे ।श्रीमती घन्टौं झुम्मिने भित्ताको ऐनातिर आँखा डुलाए तर त्यहा ऐना थिएन | भान्सातिर एकसुरले काम गर्दै गरेकी श्रीमतीतिर हेर्दै सोधे “ सुन त ,खै त यहाँको ऐना ?”
भरखर धोएर सफा र टिलिक्क पारेको थालमा आफ्नो अनुहार हेर्दै भनिन “ म कस्ती देखिएकी छु, हजुर ? कुवाभित्र मात्र अनुहार देखिन्छ र ! “
मिठा मिठा पाकेका परिकारहरू टेबलमाथि सजाईन् अनि गिलासमा पानी सार्दै भनिन् “ चौतारीमा राखेको पानी मात्रै मिठो हुन्छ र !”
( —— दिनेश पोखरेल )