“ ऊ : किन बरबाद होस् “ कविता

सूर्य ढलेको देख्यो, चन्द्र फुटेको देख्यो

धरती डढेको देख्यो, कालो तारा देख्यो

बादल ओढेर पनि सुत्यो

देख्ने नदेख्ने सबै देख्यो ,हेर्ने नहेर्ने सबै हेर्यो

सोच्ने नसोच्ने सबै सोच्यो,बोल्ने नबोल्ने सबै बोल्यो

गर्ने नगर्ने सबै गर्यो

बोतलभित्र डुबेर रातदिन चौबिसै घण्टा

घुमी रहयो डुली रहयो उडी रहयो

पौडी रहयो रक्सीमाथि रंगिन माछा झै

मान्छेले ‘एक्वैरियम ’ माने बोतललाई

मजा लिई रहे , संतुष्ट भई रहे

तर आज ‘ ऊ ‘

बोतल बाहिर निस्केर

बोतलभित्र आफैलाई हेर्दैछ

नयाँ पालुवाले ढकमक भएको

वसन्त झै देख्छ आफूलाई यो बर्ष

माछा हैन मानव हूँ भनेर

प्रण गर्छ फुटेको बोतल सामु

ग्रहणले छाडेको खुला आकाश सामू

सलाइको बट्टा जस्तो पार्टी गृहमा

सानो समुदाय काँटी जसरी खाँदिएका छन

औंला जसरी मुठ्ठिएका छन

आज धार्मिक भोज खान

सानो घर जगमगिएको छ बत्तीले

मगमगिएको छ खानाको वासनाले

पर्वको रंगले उत्तेजित छन सबैजना

शान्त छैनन, सलाइको काँटी बले झै

‘ऊ’ लाई पनि निम्ताइएको छ

भोजमा

ऊ केन्द्रबिन्दु बनेको छ

वरिपरी कानहरुको भिड छ, खासखुस छ

वरिपरी ऑखाहरूको भिड छ, तीरहरू छन

आवाजहरुको भिड छ, प्रदूषण छ

ऊ भित्ता झै मौन छ

कोही चबाई रहेछन ‘ऊ’ लाई

कतै ओकल्ने मनसायले

कोही घोची रहेछन कोही पेची रहेछन

कोही अतितका उसका घाउको

पाप्रो कोट्याएर दुखाइ रहेछन्

ब्यस्त चहलपहल छ खुल्दुलीको

कयौ घृणाहरू , खिसीहरु

मुखको ,आँखाको ,जिब्रोको ,निधारको संकेतबाट

माकुराको जालो जसरी

‘ ऊ ‘ वरिपरी बुनिएका छन

केवल महसूस गर्छ अल्झिएको झिंगा जस्तो

ऊ,आफुलाई

नमिलेको संगीत जस्तो ,नपाकेको खाना जस्तो,

ताल नमिलेको नाच जस्तो , नफुलेको बेलुन जस्तो,

त्यो पार्टीमा असुन्दर बनी बिझाएको देख्छ

अरूको आँखा आँखामा

बोतल भित्रबाट भागेको ‘ऊ’ लाई

भगौडे कैदी सरह

मान्छेहरूले मनको चार साँधबाट खेदिरहेछन , लखेटी रहेछन

अनि थुन्दछन् त्यो बोतलभित्र

‘ ऊ ‘ आज फेरि ‘ एक्वैरियम ‘ भित्र

बन्द भएको छ

( —- दिनेश पोखरेल )